काठमाडौं, असार १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ र स्वागतका लागि ३ जना मात्रै जान पाइने भएको छ ।
विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले १ जनाका लागि ३ जनामात्रै जान पाउने निर्णय गरेको हो ।
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिम समेत बढेकाले त्यो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझ देखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तको भिड लाग्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा ३ नेपाली सहित ३० वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिक तर्फ ११ हेलिकप्टर कम्पनी सहित २० वायु सेवा प्रदायकले उडान भरिरहेका छन् ।