सर्लाही, असार १३ । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार सुत्केरी भत्ता दिने भएको छ। मधेशमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ५ हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै दलित समूदायको उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने समेत घोषणा गरेको छ।
नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, बागमती नदी किनारमा आधुनिक आर्यघाट निर्माण, सुविधा युक्त बजार केन्द्र निर्माण, सांस्कृतिक नमुना बस्ती, बागमती माछापोखरी (भरत ताल) पर्यटन पूर्वाधार निर्माण आयोजना, बागमती फनपार्क आयोजना, बागमती रिसोर्ट, कृषि आधुनिकीकरण कार्यक्रम, नगर बगैँचा आयोजना, बौद्ध तपोवन पर्यटकीयस्थल निर्माण लगायत समेटेको छ।
नगरपालिकाको आगामी आवका लागि ९० करोड १० लाखको बजेट सार्वजनिक गर्दै करिब १ दर्जन योजनालाई नगर गौरबका योजनाको रुपमा समेटेको छ।
जङ्गबहादुर राणा विसं १८७४ असार ४ गते अर्घाखाँचीमा जन्मिएका र तराईमा सिकार खेल्न आएको समयमा १९३३ सालमा रौतहटको पत्थरघट्टामा निधन भएको थियो। उनको अन्त्येष्टि भने सर्लाहीको बागमती नगरपालिका-७ राजघाटस्थित मानेचौरमा गरिएको थियो। अहिले नगरपालिकाले सोही स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेको हो।