विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियो। आजको बैठकमा ८९ सांसद मात्र उपस्थित थिए। विश्वासको मतको पक्षमा ४६ मत खस्दा विपक्षमा ४३ मत परेको थियो। जसपाका सांसद तटस्थ बस्ने घोषणा गरे पनि तटस्थमा शून्य मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिए।
संविधानको धारा १८८ को उपधारा(३) बमोजिम विश्वासको मतका लागि प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत आवश्यक पर्छ।
मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत मागेका थिए। उनले विश्वासको मत लिने प्रस्ताव पेश गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि हिजोको बैठक आजलाई सारिएको थियो।
यो सँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ। एमाले नेता कार्की गत पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका थिए।
कोशी प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश मुख्यमन्त्री कार्कीको पक्षमा थिए। प्रदेशमा कांग्रेसका २९, माओवादीका सभामुख सहित १३, एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद छन्।