काठमाडौं, असार १५ । सरकारले ऋण लिएर बनाएको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको १५ महिनासम्म पनि सुनसान छ । यो बन्दरगाह विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएर २२ चैत २०७८ देखि औपचारिक रूपमै सञ्चालनमा आएको थियो । बन्दरगाह सञ्चालनमा आए पनि अहिलेसम्म यसको प्रयोग भने बढ्न सकेको छैन । सरकारले भौतिक पूर्वाधार निर्माण सकिए पछि यसको सञ्चालनका लागि भन्सार सहितका कर्मचारी खटाएको छ । तर, बन्दरगाहमा कहिले काहीँ मात्रै कन्टेनर आउँछन् । कर्मचारीहरूलाई दिन कटाउनै मुस्किल छ ।
सुक्खा बन्दरगाह सञ्चालनमा आएको १५ महिनासम्ममा जम्मा १६७ वटा मात्रै कन्टेनर आएका छन् । चालू आर्थिक वर्ष २०७९/८० को असार १५ सम्ममा यो सुक्खा बन्दरगाहमा जम्मा १४४ वटा मात्रै कन्टेनर आएका छन्, बाँकी २३ वटा अघिल्लो आर्थिक वर्षमा आएका हुन् । नयाँ बनेका संरचना प्रयोग विहीन हुँदा माकुराले जालो लगाउन थालेका छन् ।
सरकारले स्वदेश भित्रिने वस्तुहरूलाई सिधै चोभार ल्याउने र बाहिरिने वस्तुहरूलाई पनि चोभारमै जाँचपास गरेर पठाउने गरी यो पूर्वाधार बनाएको हो । निर्यातमा जोड दिने गरी बनाइएको यो पूर्वाधारबाट अहिलेसम्म जम्मा ५ वटा मात्रै कन्टेनरको भन्सार जाँचपास भएको छ ।
यो बन्दरगाह निर्माण गरेको नेपाल इन्टर मोडल यातायात विकास समितिले भने पूरक पूर्वाधार नबन्दा प्रयोगमा आउन नसकेको बताएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल काठमाडौं-तराई द्रुतमार्गको पूरक परियोजना चोभार सुक्खा बन्दरगाह भएको बताउँछन् । सुक्खा बन्दरगाह समयमा नै निर्माण सम्पन्न भयो तर द्रूतमार्गको निर्माण ढिला हुँदा बनेका पूर्वाधार प्रयोगमा नआएको देखिएको तर्क गजुरेलले गरे । ‘हाम्रो पूर्वाधार तयारी अवस्थामा छ । भन्सारका कर्मचारी समेत तयारी अवस्थामा राखिएको यो परियोजनाको प्रयोगमा सरकारले नै जोड दिनुपर्ने हुन्छ,’ उनले भने ।
काठमाडौंमै भन्सार सुविधा र जाँचपास हुँदा व्यवसायीलाई सहज र छिटो सेवा दिन सकियोस् भनेर बन्दरगाह बनेको हो । बन्दरगाह पूर्ण सञ्चालनको अवस्थामा छ, तर पूर्ण क्षमतामा चल्न नसकेको गजुरेलले स्वीकारे । गजुरेलका अनुसार काठमाडौं बाहिर वीरगञ्ज सहितका सबै भन्सारबाट आउने सामानको जाँचपास गराउने गरी चोभारमा बन्दरगाह बनेको हो । चोभारमा जाँचपास गराउने हो भने एलसी खोल्दा नै त्यो बारे खुलाउनुपर्छ । त्यस्ता सामान नेपाल प्रवेश गर्ने नाका नजिकको भन्सारबाट सिल भएर यहाँसम्म आउन सक्छन् । भन्सार गराउने पूर्वाधार तयारी अवस्थामा भए पनि व्यापारीले कन्टेनर ल्याइरहेका छैनन् ।