Kath khabar
बृहत रक्तदान कार्यक्रमसहित कलाकार किरण के.सी 'रातामकै' को जन्मदिन सम्पन्न

 

               ललितपुर, असार १५ । वरिष्ठ कलाकार, गायक, समाजसेवी किरण के.सी (रातामकै)को आज परेको जन्मदिनको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष उहाँको जन्मदिनमा शुभकामना दिन हरेक क्षेत्रका व्यक्तित्वहरू ललितपुरको इमाडोल राता मकै चोकस्थित इन्द्रेणी ब्याङ्क्वेटमा भेला हुने गर्छन् । यसपटक भने केसीले अलि फरक किसिमले आफ्नो जन्मदिन मनाउनुभएको छ  ।

जन्मदिनको सु-अवसरमा उहाँले रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको थियो । ललितपुरको इमाडोलस्थित इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कल र लायन्स क्लब काठमाडौँ सोसल सर्कलसँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १०० पोइन्टभन्दा बढि रगत जम्मा भएको छ ।

रक्तदान कार्यक्रमपछि हरेक वर्ष झै कलाकार किरण के.सीद्धारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउने व्यक्तित्वहरुमा च्यान्टी सुवेदी (९७ वर्ष), मिठू के.सी (८५ वर्ष),  शुलभ बुढाथोकी, 'रजतपट' कार्यक्रमका सञ्चालक तथा रंगपत्रकार प्रकाश सुवेदी, कमेडी क्लब विथ च्याम्पियन्स कार्यक्रमका चर्चित हास्य कलाकार कैलाश कार्की, व्यंग्य कवि शैलेन्द्र सिंम्खडा, शिवहरी वैरागी, श्याम के.सी र मनहरी भण्डारी रहनुभएको छ । उहाँहरु मध्ये ४ जनालाई १५/१५ हजार र ३ जनालाई ५/५ हजार सम्मान स्वरुप प्रदान गरिएको थियो । यस्तै तीन जनालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको आकर्षणमा गायक तथा कलाकार यमन श्रेष्ठ र गायक देवेन्द्रमानसिंहले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो । कलाकार किरण केसीलाई शुभकामना दिन विभिन्न कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको प्रमुख मन्तव्य सहित समापन गरिएको उक्त कार्यक्रम शशि कुमार खड्काले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update