Kath khabar
नारायणगढ मुग्लिन सडक २८ घण्टा पछि खुल्यो

 

                 नारायणगढ, असार १५ । नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै सडक खण्ड सञ्चालनमा आएको हो ।

आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खण्डको इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो ।

बेला बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेको प्रमुख पौडेलले बताउनुभयो ।हिजो देखि सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहान देखि पहिरो पन्छाउन थालिएको हो ।

सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । चौबीस घण्टा भन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका थिए । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update