काठमाडौं, असार १७ । अब फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट अनलाइन व्यवसाय गरेको खण्डमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सङ्घीय संसदको राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापार (ईकमर्स) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
विधेयकको दफा ४ मा ईकमर्स गर्न चाहने प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म (वेबसाइट, एप्लिकेसन तथा सफ्टवेयर सिस्टम) स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ । अन्यथा सोही विधेयकको दफा २१ को (क) को कसूर गरेको मानिने र त्यस्तो अवस्थामा दफा २२ अनुसार निरीक्षण अधिकृतले १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्तावित व्यवस्था छ ।
त्यस्तै वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्रै विद्युतीय व्यापार गर्न सक्ने प्रावधान समेत विधेयकमा छ । यस्ता व्यवसायीहरूले आफ्नै सूचीमा आधारित ईकमर्स व्यवसाय सञ्चालन गर्न वा मध्यस्थ ईकमर्स व्यवसायीको प्लेटफर्ममार्फत आफ्नो वस्तु तथा सेवा बिक्री गर्न सक्नेछन् ।