Kath khabar
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

 

                        काठमाडौं, असार १७ । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङमार्फत उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई हराएको हो । जिम्बावेको तकसिङ्गा स्पोर्टस क्लबमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिङको निम्ता दिएको थियो।

ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

यूएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४४, रोहन मुस्ताफाले ५६ बलमा ३५, वसिल हमिदले ३५ बलमा २९, आर्यान्श शर्माले ४३ बलमा २८ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिए । यस्तै, गुलशन झा, दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । योसँगै  दीपेन्द्रसिंह ऐरी आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध प्लेयर अफ द म्याच बनेका छन् ।

अब नेपालले विश्वकप छनोटको अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग मंगलबार खेल्ने भएको छ । सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछ । आयरल्यान्डले प्लेअफ सेमिफाइनमा अमेरिकालाई हराउँदै सातौं स्थानको लागि आफ्नो स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update