ललितपुर, असार १८ । जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । अघिल्लो हप्ता बुधवार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछाने बीच अदालत भित्रै झगडा भएको थियो ।
अधिवक्ता लामिछानेले आफैँ कागजात पल्टाइ हेर्न थालेको र आफूले मिसिल नहेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ । लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र घुस दिन नमान्दा जथाभाबी बोलेर हातपात गर्न थालेको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि बिहीवार प्रहरीले अधिवक्ता लामिछानेलाई पक्राउ गरेको थियो । अधिवक्ता लामिछानेलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले हिजो दिउँसो १ बजेसम्म काम रोकेका थिए । कानुन व्यवसायीहरुले पनि त्यसको प्रतिवादमा बहस गरेका थिएनन् । विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले लामिछानेलाई हिजो रिहा गरेको हो ।