काठमाडौं, असार १९ । नेपाल आयल निगम लिमिटेडले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ताले जानकारी दिए ।
बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५०, रु.६ र रु. ५ ले घटाइएको छ ।
निगमले पहिलो वर्गमा राखेको तराईको विराटनगर, वीरगन्ज‚ चारअली, जनकपुर, अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढीमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको बताएको छ । दोस्रो वर्गमा रहेको सुर्खेत र दाङमा प्रतिलिटर रु ६ रुपैयाँका दरले मुल्य घटाएको छ ।
तेस्रो वर्गमा राखिएको काठमाडौं‚ पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ ।
यसैगरी, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।