काठमाडौं, असार १९ । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए । तर, चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
यो ९ वर्षअघिको संख्या भन्दा करिब ३० हजार बढी हो । ‘अझै आर्थिक वर्ष सकिन थप १५ दिन बाँकी रहेकाले यो संख्या साढे ७ लाख नाघ्ने अनुमान छ,’ उनले भने । सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०६४/६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । त्यसपछि लगातार बढिरहेको विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७१/७२ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नयाँ श्रम स्वीकति लिएर जानेको संख्यामा भने आर्थिक वर्ष २०७०/७१ मा रेकर्ड कायम भएको थियो । सो वर्ष ५ लाख २७ हजार ८१४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।
तर, महाभूकम्प गएको आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८८७ जना नयाँ नयाँ श्रम स्वीकति लिए पनि पुनः श्रम स्वीकृति लिएर जानेको संख्या उच्च हुँदा कुल संख्यामा रेकर्ड बनेको थियो । सो वर्ष पुनः श्रम स्वीकति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।
आर्थिक वर्ष २०७१/७२ पछि लगातार घटिरहेको वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड-१९ महामारी पछि भने फेरि उकालो लागेको छ । वैदेशिक रोजगारविज्ञ डा. जीवन बानियाँका अनुसार संविधान बन्ने आशा रहेको समयसम्म विदेश जानेको संख्या सुस्त गतिमा मात्र बढेको थियो । तर, पहिलो संविधानसभाको संविधान नबनाई भएको विघटनले ल्याएको निराशाले विदेशिने युवाको संख्यामा ठूलो वृद्धि ल्याएको थियो । त्यसैकारण झण्डै ७ लाख युवा विदेशिएर आर्थिक वर्ष २०७१/७२ मा नयाँ रेकर्ड कायम हुन पुगेको थियो ।