काठमाडौं, असार २० । चर्चित नेपाली रक गायक, संगीतकार तथा अभिनेता रविन तामाङको निधन भएको छ। उनी नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार हुन् ।
६० वर्षीय तामाङको मंगलबार साँझ काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो । तामाङ आफ्नै घरको कोठा भित्र मृत भेटिएका हुन् । उनका कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको प्रहरीले बताएको छ ।
तामाङकी दिदी भगवतीले मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका लक भएको र भाइ भित्र रहेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्, प्रहरीले ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका थिए । उनको मृत्युको कारण खुलेको छैन । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सिंगापुरमा जन्मेका रविन लाहुरे परिवारका कान्छा छोरा थिए । सिंगापुरमा आफ्नो स्कुलिङको क्रममा उनी जिमी हेन्ड्रिक्स र डीप पर्पलबाट प्रेरित थिए । १९९६ मा उनी नेपाल फर्केर आफ्नो बुबाको घर पोखरामा बस्न थालेका थिए ।
नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । पछिल्लो समय उनी गायनभन्दा अभिनयमा बढी सक्रिय देखिन्थे । उनले ‘छड्के’, ‘मुखौटा’, ‘नाका’, ‘चिसो एस्ट्रे’ लगायत चलचित्रमा अभिनय गरेका थिए ।
सन् १९६३ मा सिंगापूरमा जन्मिएका उनले नेपाल फर्किएर शुरूमा ‘रविन एन्ड लूजः’ नामको ब्यान्ड स्थापना गरेका थिए। पछि उक्त ब्यान्ड छुट्टिएपछि उनले ‘रविन एन्ड द न्यू रिभोल्युशन’ स्थापना गरे । यही ब्यान्डले उनलाई संगीतमा परिचय दिलायो। ‘केटाकेटी’, ‘भूलमा भुल्यो’, ‘दम मारो दम’, ‘माइला भाइ’ 'हाम्रो देश' रविनका चर्चित गीत हुन् ।