Kath khabar
अन्ततः राष्ट्रपति पौडेलको भारतमा गराएको उपचार खर्च सरकारले नै बेहोर्ने 

 

                काठमाडौं, असार २० ।  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।  राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमण भत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले जानकारी दिए ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

‘राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको समेत दैनिक भ्रमण भत्ता कटाएर हवाइ भाडा र उपचार खर्चको मात्रै बिल स्वीकृत भएको छ, त्यहीअनुसार १८ असारको साँझ सचिव स्तरबाट निर्णय गरेर निकासा मागिएको हो,’ उपसचिव भुर्तेलले भने । काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको जानकारी उनले दिए । दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्कंदाको करिब ६ लाख खर्च भएको देखिएको जानकारी उनले दिए । ती सबै रकमको बिल सहित रकम निकासाका लागि अनुरोध गरिएको उनले बताए ।

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update