भक्तपुर, असार २० । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
नतिजा आज बुधबार प्रकाशन गर्ने कुनै तयारी नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । नतिजाका लागि लगभग सबै तयारी सकिएको र यही शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए । बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्नेछ। तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको बोर्डले जनाएको छ ।
नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमति पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैङ्क, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था/फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् ।
यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउनेछन् । जसअनुसार नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov, www.see.ntc.net.np लगायतबाट हेर्न सकिनेछ ।
बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ । पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकोले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । २०७९ चैत १७ गतेदेखि सञ्चालित परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।