Kath khabar
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा 


                  काठमाडौं, असार २० ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रिय सभा बैठक शुरु हुने वित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्। 

उनले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राख्नु भयो । प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इशारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इशारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटक पटक दोहोर्‍याए। 

उनले प्रधानमन्त्री प्रचण्ड स्वयम्ले आफू भारतको इशारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए। ‘दिल्लीको इशारामा प्रधानमन्त्री बन्नुभएको हो भने यो देशको प्रधानमन्त्री हुने हक अधिकार छैन,’ उनले भने। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने पनि उनले बताए। 

एमालेको विरोध पछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ३ बजेसम्मका लागि स्थगित गरेको बैठक अझै शुरू हुन सकेको छैन।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update