Kath khabar
एसईईको नतिजा आज बिहीबार सार्वजनिक हुने

         

                   काठमाडौं, असार २१ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ । त्यसअघि नतिजा सार्वजनिक गर्न आज अपराह्न बोर्डको बैठक बोलाइएको छ । कुनै समस्या नआए आज बिहीबार नै नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

बोर्डले शैक्षिक सत्र २०७९ सालको परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ। विसं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ।
    
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ।

नतिजा हेर्न नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov, www.see.ntc.net.np लगायतबाट हेर्न सकिनेछ । एसएमएसका लागि सर्टकोड ३५००१, ३४९४९, ३१००३ र १६०० रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update