सप्तरी, असार २१ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ। भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि प्रहरी उनलाई बुधबार पक्राउ गरेको हो। सप्तरीकी सूचना अधिकारी एसपी नरेन्द्र कार्कीले जानकारी दिए। अहिले उनलाई हिरासतमा राखिएको छ।
उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्। उनका पति महेन्द्र यादव भारतीय हुन्। उपमेयर यादवको माइती भने डाक्नेश्वरी नगरपालिकामै पर्छ।
भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्। उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ। उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेको छ। उनी भने हाल फरार छन्।