Kath Khabar
पत्रकारहरुलाई प्राथमिकता दिएर कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असार ४ । फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । पत्रकार तथा अधिवक्ताद्धय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गर्नुभएको छ । रिटको सुनुवाई आईतबारको लागि तोकिएको छ ।

निषेधाज्ञाका बेलासमेत नागरिकलाई फिल्ड मै पुगेर समाचार संकलन गरी सुसूचित गराउँदै आएका पत्रकारहरुलाई राज्यले कोभिड बिरुद्धको खोपमा प्राथमिकता नदिएकाले न्यायालयको ढोका ढक्कढक्याउनु परेको पत्रकार समेत रहनुभएका रिट निबेदक अधिवक्ता बिष्णु गिरी निश्चलले बताउनुभयो ।

सरकारले खोप लगाउन सुरु गरेका बेला पत्रकारहरुलाई जोखिमयुक्त समुहमा राखेर खोप लगाउने व्यवस्था गरेको थियो । अहिले भने पत्रकारहरुलाई उक्त समुहबाट हटाइएको अवस्था छ, अर्का रिट निवेदक अधिवक्ता लीलानाथ घिमिरेले भन्नुभयो, अग्रपंत्तिमा खटिएर समाचार संकलन गर्नुपर्ने पत्रकारहरु जोखिममा छन् । उनीहरुलाई कि किनेर भने पनि खोप लगाउने ब्यवस्था गर्नु पर्यो, कि सरकारले खोपको ब्यवस्था गर्नु पर्यो भनेर सर्वोच्च अदालतमा निवेदन गरेका हौं ।

देशभरका धैरै पत्रकारले एक मात्रा पनि खोप लगाउन पाएका छैनन् । अग्रपंतिमा रहेर समाचार संकलनमा खटिने पत्रकारलाई प्राथमिकता दिएर खोप लगाइनुपर्ने माग गर्दै पत्रकार महासंघले स्वास्थ्यमन्त्री र सूचना तथा संचार मन्त्रीलाई भेटेर पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।

रिट निवेदनममा सरकारले सांसदहरु, विभिन्न दलका नेता, स्थानीयतहका पदाधिकारी, बैंकका कर्मचारीहरु, कानुन ब्यवसायीहरुले प्राथमिकतामा खोप लगाउन पाएको यस्तो महामारीको बेला तिनै सांसदहरुको समाचार संकलन गर्न भिडभाडमा जानै पर्ने बाध्यता भएका पत्रकारलाई भने सरकारले विभेद गरेर खोपमा प्राथमिकता नदिएकोले अदालतमा निवेदन लिएर आउनुपर्ने अवस्था आएको उल्लेख छ । जोखिममा रहेका पत्रकारहरुको ज्यानको सुरक्षा गर्नु सरकारको दायित्व हो भन्दै रिट निवेदनमा अग्रपंक्तिमा खटिएर समाचार संकलन गरी सम्पूर्ण नागरिकलाई सुसूचित गराउन खटिएका पत्रकारलाई खोप लगाउन राज्यले प्राथमिकता दिनु पर्ने उल्लेख छ । बजारमा शुल्क तिरेर खोप लगाउन सक्ने अबस्थासमेत नरहेकाले राज्यले ब्यवस्था मिलाउनु पर्ने निवेदकहरुको जिकिर छ ।

सरकार स्वयंले प्राथमिकतामा राखेको र नेपालको संविधानले प्रधान गरेका हकहरुको कार्यान्वयनमा आमनागरिकलाई सघाउन सक्रिय मुलुकभरका करिव १२ हजार पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने ब्यवस्था मिलाउन विपक्षीहरुका नाममा नाउँमा उत्प्रेषण, परमादेशल गायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।

तत्काल खोप नलगाए फ्रन्टलाइनमा खटिने पत्रकारहरुका कारण कोरोना संक्रमण फैलिन सक्ने र पत्रकारहरुको ज्यानै जोखिममा पर्न सक्ने भएकाले तत्काल खोप लगाउने ब्यवस्था मिलाउन विपक्षीहरूका नाउँमा अन्तरिम आदेश समेत जारी गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update