काठमाडौं, असार २१ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बालुवाटारको १४ रोपनी १० आना १ पैसा ३ दाम जग्गामा विशाल गोदाम बनाएका छन् । गोदमको पक्की संरचना मात्रै ८ रोपनी १ आनामा फैलिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गोदामघरको नक्सा पास भने गरिएको छैन ।
‘ललिता निवासको हडपिएको जग्गामा भाटभटेनीले विशाल गोदाम बनाएको छ । तर, नक्सा पास नगरिकनै बनाएकाले महानगरले अनुसन्धान गरिरहेको छ,’ महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले भने, ‘नक्सा पास गरेको नपाइए डोजर लगाएर भत्काउँछौँ ।’
व्यक्तिका नाममा लगिएको ललिता निवासको जग्गामा महानगरले तारबार लगाउने घोषणा गरिसकेको छ । त्यहाँ रहेका संरचना हटाउन सातदिने म्याद जारी भइसकेको छ ।
त्यसपछि त्यहाँका सबै संरचना भत्काउने महानगरको योजना छ । नक्सा पास गरेर पहिले नै बनाइसकिएको संरचना भने अदालतको फैसला पछि मात्रै हटाइने नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए ।