काठमाडौं, असार २२ । प्रतिनिधिसभा बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। कार्यव्यवस्था समितिमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो।
सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित गर्ने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ। समितिको बैठकमा सभामुख देवराज घिमिरेले भने, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला।
संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु। पर्सीसम्ममा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौँ।’
आजको प्रतिनिधिसभा बैठकमा विवादमा आएको अभिव्यक्ति माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिने कार्यसूची तय भएको थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमाले लगायतका ३ दलले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएका छन्। आजको राष्ट्रिय सभा बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ।