Kath khabar
बेल्जियम र नेदरल्यान्ड्स युरोकपको अन्तिम १६ मा

युरोप, ४ असार । बेल्जियम, डेनमार्कलाइ दुई एक गोलले पराजित गर्दै युरोकपका नक आउट चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जीत हात पारेपछि बेल्जियम समुह बीबाट एक खेल अगावै अन्तिम १६ मा पुगेको हो ।

कोपेनहेगन स्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियम एक शुन्यले पछि परेको स्थितीबाट खेलमा फर्किएको थियो । आफ्ना स्ट्राइकर क्रिस्टियन एरिक्सनलाइ कार्डियक अरेस्ट भएपछिको पहिलो खेलमा डेनमार्कले  सुरुवाती अग्रता लिएको थियो ।  डेनमार्कका युसुफ पुलसेनले खेल सुरु भएको ९९ सेकेन्डमा नै गोल गर्नुभएको थियो । छोटो समयमा युरोपकपमा गोल भएको यो दोस्रो पटक हो । 

यस अघि सन् २००४ मा रुसका दिमित्री किरीचेन्कोले ६७ सेकेन्डमा गोल गर्नुुृभएको थियो । दशौं मिनेटमा बेल्जियमले वल मैदानबाट बाहिर पठाएर एरिक्सनलाइ समर्पन गर्नुभएको थियो । यहि मैदानमा फिनल्यान्ड विरुद्धको अघिल्लो खेलमा एरिक्सनलाई कार्डियक अरेस्ट भएको थियो । पहिलो हाफमा डेनमार्क निरन्तर आक्रामण बुनिरहँदा विश्व नम्बर एक बेल्जियमले राम्रोसँग खेल्न सकेको थिएन । दोस्रो हाफमा मिडफिल्डर केभिन डि ब्रुयना मैदान प्रवेश गरेसंगै रोबर्टो मार्टिनेजको टोलीले लय समात्यो । ब्रुयनाले चोटका कारण अघिल्लो खेल गुमाउनुभएको थियो । ५४ औं मिनेटमा ब्रुयनाको पासमा थोर्गन हाजार्डले गोल गर्दै खेल बराबरी गर्नुभएको थियो । ७० औं मिनेटमा ब्रुयना आफैले इडेन हाजार्डको सहयोगमा गोल गरेपछि बेल्यिजम दुई एक गोलले विजयी भयो । ब्रुयनाले आफ्नो गोलको खुशीयाली भने मनाउनुभएन । उहाँको युरोमा यो पहिलो गोल हो । खेलको अन्तिम तिर डेनमार्कले खेल बराबरी गर्ने केही राम्रा अवसर पाएको थियो तर सफल भएन् । डेनमार्कको यो लगातार दोस्रो हार हो । बेल्जियमले अन्तिम खेलमा फिनल्यान्ड र डेनमार्कले रुससंग खेल्नेछ ।

नेदरल्यान्ड्सले सफलता हात पार्दा मेसीडोनिया बाहिरियो
नेदरल्यान्ड्स, सन २००८ पछि पहिलो पटक युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । समुह सी मा रहेको डच टिमले लगातार दोस्रो जीत हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्सले गएराती भएको  खेलमा अस्ट्रियामाथि दुई शुन्य गोलको जीत हात पार्यो । पहिलो खेलमा उसले युक्रेनलाई हराएको थियो । १२ हजार दर्शक उपस्थित भएको आम्सर्टडम स्थित योहान क्रम स्टेडियममा नेदरल्यान्ड्सले एघारौ मिनेटमानै अग्रता लिएको थियो । उसका लागि माम्फिस डिपायेले पेनाल्टीमा गोल गर्नुभएको थियो । उहाँको राष्ट्रिय टिमका लागि यो २७ औं गोल हो ।  ६७ औं मिनेटमा डेन्जाल डम्फ्रिसले अग्रता दोब्बर बनाउनुभएको थियो । जीतले नेदरल्यान्ड्स एक खेल पहिलेनै नक आउटमा पुग्यो । नेदरल्यान्ड्सको जीतपछि मेसिडोनिया भने प्रतियोगिताबाट बाहिरियो । जारी युरोमा समुह चरणबाट बाहिरिने मेसिडोनिया पहिलो टोली हो ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update