काठमाडौं, असार २४ । संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल सुरु भएको हो।
सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । बैठकमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामाको अडान राख्दै एमालेले ४ दिनदेखि लगातार प्रतिनिधिसभा र राष्ट्रियसभा अवरोध गर्दै आएको छ । आजै बिहान ११ बजे बसेको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको एमालेले १ बजे बस्ने प्रतिनिधिसभा बैठकसमेत अवरोध गर्ने योजना बनाएको छ ।