वासिंगटन डिसी, असार २४ । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा पठाउने भएको छ। राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय गर्न निकै कठिन भएको बताउनु भएको छ ।
उहाँले युक्रेनमा गोलीगठ्ठा सकिनै लागेकाले क्लस्टर बम पठाउने निर्णय लिन बाध्य भएको बताएका बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बम आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताउनु भएको थियो ।