दिल्ली, असार २५ । भारतका विभिन्न राज्यमा भइरहेको मुसलधारे वर्षाले ठूलो जनधनको क्षति गरेको छ । वर्षाले ७ सय वटाभन्दा धेरै सडक बन्द रहेका छन् ।
बाढीले सिमला, मनाली, कुल्लु, किन्नौर र चम्बामा दर्जनौँ पसल र गाडी बगाएको भिडियो सार्वजनिक भएको छ । बाढीले राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ । केही व्यक्तिले आफ्नो जीवनकालमा यति ठूलो वर्षा र बाढी कहिल्यै नदेखेको बताएका छन् । प्रशासनले २ दिन विद्यालय र कलेज बन्द गर्न आदेश दिएको छ ।
यस्तै पर्यटक तथा स्थानीय बासिन्दालाई यात्रा नगर्न र नदी नजिक नजान अपिल गरिएको छ । मौसम विभागले हिमाचल प्रदेशका १२ मध्ये १० वटा जिल्लामा 'रेड अलर्ट' जारी गरेको छ । धेरै ठाउँमा २४ घण्टामा २०४ मिलिमिटर भन्दा धेरै वर्षा हुने अनुमान छ ।
यसैबीच भारतका केही राज्यमा अबको ३ दिन मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ । मुसलधारे वर्षा पछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा ५, जम्मु कश्मीरमा ४, पञ्जाबमा २ तथा दिल्ली र लद्दाखमा १-१ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ । यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा ३ वटा पुल बाढीले बगाएको छ ।
यस्तै, मनालीमा ७ घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । ७ सयभन्दा धेरै सडक बन्द छन् ।
यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३६५.४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।