Kath khabar
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने

 

                 काठमाडौं, असार २६ ।  काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा आगामी साउन १ गते देखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने भएको छ।

पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरु गर्ने भए पनि यसलाई क्रमिक रूपमा महानगरका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको छ। यो अभियान महानगर र बानेश्वर व्यापार सङ्घले संयुक्त रूपमा शुरु गर्न लागेका हुन्।

सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो। आज देखि आगामी साउन १ गतेसम्म प्रचार प्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले बताए।

सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्दा अन्य व्यक्तिलाई पनि उत्तिनै असर गर्ने हुँदा निषेध गर्न लागिएको हो। धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ।   

एक वर्षअघि पनि महानगरले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो, तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरु गर्न लागिएको जनाइएको छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्छ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update