Kath khabar
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ

 

                     काठमाडौं, असार २६ । मंगलबार बिहान काठमाडौँको लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखु पिके गाउँपालिका-५ भक्कानेस्थित लाम्जुरा चिहानडाँडामा दुर्घटना भएको छ । चालकसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परी ६ नै जनाले ज्यान गुमाएका छन् ।

नागरिक उड्डयन कार्यालयको उद्धार समन्वय समितिका अनुसार विमानमा क्याप्टेन चेतबहादुर गुरुङसहित रिन्कोन स्माइल, सिफुन्तेस जी फर्नान्डो, सिफुन्तेस जी मारिया होसे, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिक रहेका थिए । ६ जनाकै शव संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

मनाङ एयरको नाइनएनए एमभी कलसाइनको हेलिकप्टर क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए । उनी अनुभवी तथा साहसी पाइलट रहेको मनाङ एयरका उडान सुरक्षा प्रवन्धक राजु न्यौपानेले बताए । ५५ वर्षीय चेतबहादुर गुरूङ सन् २०१४ देखि मनाङ एयरमा आवद्ध थिए ।

क्याप्टेन चेतबहादुर गुरुङ चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए । सन् २०१९ को अप्रिलमा लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो । ककपिटमै बसिरहेको समयमा उडान भर्दैगरेको समिट एयरको ९एन–एएमएच विमान दुर्घटनामा घाइते भएका थिए । तर यसपटक यस दुर्घटनामा उनी कहिल्यै नफर्कने गरी अस्ताएका छन् । ललितपुर भैसेपाटी निवासी गुरुङका श्रीमती र एक छोरी छन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update