सुर्खेत, असार २७ । सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रको जारायो मारेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान ३ बजेतिर जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको पैदल गस्ती टोलीले ५ जनालाई पक्राउ गरेको हो।
पहिलो चरणमा पक्राउ परेका उनीहरूको नाम भने खुलाइएको छैन। उनीहरूले राति नै जरायो मारेको खबर आएको डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत भरत कुमार थापाले बताए। उनका अनुसार उक्त जरायो बासस्थानबाट मंगलबार दिउँसो नै बाहिर निस्किएको थियो।
‘बासस्थानबाट निस्किएर पिपिरा क्षेत्रमा छिरेपछि स्थानीयले हामीलाई खबर गरेका थिए, हाम्रो ५ जना र जिल्ला प्रहरी कार्यालयको टोली परिचालित गरेर छोप्न खोजे पनि सकिएन,’ थापाले भने, ‘राति गाउँलेले मारेपछि प्रहरीले समातेछ।’
प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइसकेको छैन। उक्त जरायो अन्दाजी २ वर्षको पोथी भएको थापाले जानकारी दिए।
सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा जरायोको बासस्थान छ। त्यहाँ अहिले २२ वटा जरायो गणनामा रहेको उनले बताए।