काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टी गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्येष्टी राजकीय सम्मानसहित गरिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री दाहालले पार्टीको झण्डा ओढाएर पत्नी सीतालाई श्रद्धाञ्जली दिएका छन् ।
दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, आफन्त तथा कार्यकर्ताहरु पेरिस डाँडा पुगेका छन् । शोकसभामा उपस्थितहरु सबैले श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरेका थिए । उनको आजै पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिँदैछ।