काठमाडौं, असार २७ । पशुपति दर्शन गर्न आएका २ भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो।
कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन्। उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ।
परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाईंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए।
त्यसरी विश्वासमा लिएर ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर-९ रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए। त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर, त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवा मार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ।
उक्त खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाबाट यस घटनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।