काठमाडौं, असार २८ । अनलाइन सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे लगायतका कलाकारहरु धरौटीमा छुटेका छन् ।
उनिहरुलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ । उनिहरु २७ दिनको हिरासतको बसाइपछि निस्किएका हुन् ।
उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल भने फरार छन् ।