काठमाडौं, असार २८ । असार २२ गते दिउँसो वीरगञ्जका एक युवकले प्रहरीको हटलाइन १११३ फोन गरे। उनले वीरगञ्जको नाकामा बसेका प्रहरीले भारतबाट सामान ल्याई सस्तोमा बेचिरहेको खबर सुनाए। प्रहरी प्रधान कार्यालयले ती युवकले दिएको सूचनालाई गम्भीरताका साथ लियो। छानबिन समिति बनायो।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार सोही दिन जिल्ला प्रहरी कार्यालय सोही दिन वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको छ। ‘प्रमाणित भए, त्यस्तो कारोबारमा संलग्न प्रहरीलाई कारबाही गर्छौं,ʼ उनले भने।
गत आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्। प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।
ती महिलाले दिएको उजुरीको विवरण टिपेर पत्राचार गर्ने तयारी भइरहेको प्रवक्ता कडायतले बताए। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा रहेको १११३ नम्बर आउने फोन मध्ये यी केही प्रतिनिधि उदाहरण हुन्।