बैतडी, असार २९ । बैतडीमा आफ्नै हजुरबुवाको कुटाइबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्।
जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
कुटपिटबाट घाइते भएका दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनीहरुलाई उपचारका क्रममा २ वर्षीय रोसन साउदको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनहोरप्रसाद भट्टले बताए ।
अर्का गम्भीर घाइते रिजनलाई राती नै धनगढी ल्याएको थियो । अहिले उनको धनगढीस्थित नवजिवन अस्पताल उपचार भइरहेको छ। हेरचाह गर्न आमा र हजुरआमाले आफूहरु घाँस काट्न गएको बेला हजुरबुवालाई नातिहरु हेरचाहको लागि छोडेर गएका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।