भक्तपुर, असार ३१ । हिजाे दिउँसो भक्तपुरका टोलटोलमा नर्कट र परालबाट बनाइएका राक्षस अर्थात् गठेमङ्गल राखिएकाे थियाे । गठेमङ्गलमा परालकै हात खुट्टा, टाउको, टाउकोमा पुरानो हाँडी, नाङ्गोलमा आँखा, नाक, कान बनाइएको थियाे ।
बेलुका हुँदै गएपछि चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिँदै गयो । छ्वालीको राँको बाल्दै राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो, नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर जलाइयाे ।
यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेका र भूत लागेका भनिएका स-साना बालबालिकालाई आगो ताप्न लगाइन्छ । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास छ । गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप हिजाे बेलुका भक्तपुरको टोलटोलमा जठाःमंग पर्व मनाइएकाे छ । घरका जहान, परिवारलाई कुनै रोग-व्याधिले छुन नपाओस् भन्ने विश्वासका साथ याे दिन पञ्चरङ्गी औँठी लगाउने चलन पनि छ ।
यो औँठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत-प्रेत, पिसाचले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहँदै आएको छ । टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई कपडाले बनाइराखेको पुतलीका माला लगाइदिनाले बालबालिकालाई पिरेर दुःख दिइराखेका पिसाचले छोडेर जाने जनविश्वास रहँदै आएको छ ।
भक्तपुरका इतिहास एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले साताैँ शताब्दीदेखि चल्दै आएको यो परम्परा भगवान महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रुपमा गठेमङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ ।
यस दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने गरिन्छ । यस दिनलाई रोपाइँ सकेर रमाइलो गर्ने, चाडवाड शुरु हुने दिनका रुपमा पनि मानिने डा श्रेष्ठले बताउनुभयो ।यहीदिन केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने चलन छ । गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री-पुरुषले दर्शन गर्नुपर्ने चलन छ ।
दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याइराखेपछि बेलुका त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकबाट निकालेर टोल नगरबाट बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा छ । राँको बालेर भूत भगाउने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार 'बलीपूजा' गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।
त्यसअघि गठेमङ्गल चर्हे पर्वको अवसरमा हिजाे भक्तपुरका विभिन्न देवदेवीको शक्ति पीठमा दर्शनार्थीको भिड लागेको थियो । नेवार समुदायले हिजाे घर-घरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता छ ।
घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने) गर्दछन्' । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्दै भूत पन्छाउने गरिन्छ ।
त्यसपछि घरमा भूत प्रेत पस्न नदिन घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहँदै आएको छ । यस्तै, वयस्क युवतीले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहँदै आएको छ ।
नेवार समुदायले गठेमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन छ । हिजाेकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । त्यसको साथै गाईजात्रामा प्रदर्शन गरिने भैरव लगायतका विभिन्न नाच तथा व्यङ्ग्यात्मक नाटकको प्रशिक्षणसमेत हिजाेदेखि शुरु गरिन्छ ।