काठमाडौं, असार ३१ । नागरिक लगानी कोषले सहभागीहरूलाई नियमित ब्याजमा अतिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिस अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरूलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो ।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रमहरू मध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ वटा कोषहरूमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ ।