Kath khabar
आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने पर्व र पहिलो साउने सोमबार मनाइँदै

 

                 काठमाडौं, साउन १ । आज साउन १ गते, साउन महिनाको पहिलो दिन अर्थात आज साउने सक्रान्ति पर्व मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आ-आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरा लगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको हो।

साथै आज साउनको पहिलो पहिलो सोमबार पनि परेको छ। वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित व्रत बस्ने गर्छन् । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ।

साउनमा महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् । यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update