काठमाडौं, साउन १ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि सुरु भएको छ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधा सहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको छ । प्रोफेसनल एक्सिलेन्ट आइसिटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आइसिटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यि बाहेक यस वर्ष स्टार्टअप तथा इनोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इनोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । व्यत्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, इन्टरप्रिनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ ।
संस्थागत विधाहरुमा डिजिटल एजुकेशन आइसिटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । यसैगरी साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनमा पनि नोमिनेसन खुल्ला गरिएको छ । यि सम्पूर्ण विधाहरुमा अफिसियल वेबसाइट www.ictaward.org मार्फत अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । आफू स्वयं वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।
आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार इनोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्पर्धीको टेलिभिजन शो पनि प्रशारण हुनेछ । सातै प्रदेशमा गएर आयोजकले स्थानिय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ । यसैगरी एक महिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।
अवार्ड छनौट प्रकृयाको क्रममा, सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिले सम्बन्धित संस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरू रहेका छन । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन् ।
गत वर्ष २३ डिसेम्बरमा, एक हजारभन्दाबढिको प्रत्यक्ष सहभागितामा द सोल्टी काठमाडौंमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले सम्पन्न भएको थियो । सातौ संस्करणमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र जुरी मेन्सन सम्मान सहित अन्य १३ विधामा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको थियो । सन् २०१६ देखि हालसम्मका विजेता, सम्पूर्ण कार्यक्रम र नोमिनेसनबारे सम्पुर्ण जानकारी वेबसाइट https://ictaward.org/ मा समावेश गरिएको छ ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । गतवर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले बिजेताहरूलाई आकर्षक अफर र सुविधाहरू पनि प्रदान गरेका थिए । यस वर्ष अवार्ड विजेताहरुलाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भव्य र परिष्कृत हुने आयोजकले जनाएको छ ।
यि हुन् आइसिटी अवार्ड २०२३ का १३ विधाहरु
आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेसन खुल्ला गरिएको छ । यसैगरी सातै प्रदेशका स्थानीय स्टार्टअपहरुले पनि प्रदेशको उत्कृष्ट स्टार्टअपको सम्मान र निशुल्क बुटक्याम्प र मेन्टरिङ सेसनमा सहभागि हुनको लागि आवेदन खुल्ला गरिएको छ । नोमिनेसन दर्ता गर्न आधिकारिक वेबसाइट https://ictaward.org/ मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यही साउन ३१ गते रहेको छ ।
१. स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रोडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रोडक्ट आइसिटी अवार्ड
आइसिटी प्रोडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इनोभेटिभ प्रोडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार एण्ड इनोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इनोभेसन तथा प्रोडक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड
यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
५. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।
६. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
७. इन्टरप्रेनर आइसिटी अवार्ड
इन्टरप्रेनर आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेसनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।
८. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणीय काम गर्नुभएको महिलाहरूले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।
९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन ।
१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन ।
११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी संस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन् ।
१३. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन् । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।