काठमाडौं, साउन १ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार पनि उच्च अंकले बढेको छ । नेप्से आज ४७ दशमलव शुन्य सात अंकले बढेर २१ सय ४४ दशमलव १६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९५ प्रतिशतले बढेर चार सय चार दशमलव १० अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ५० हजार दुई सय ९९ पटकको कारोबारमा ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सूचक झिनो अंकले घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बिपी डब्लु लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, तेह्रथुम पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कुमारी धनबृद्धि योजना, सुपरमादी हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।