Kath khabar
भोलिदेखि सुरु हुने पुरुषोत्तम महिना (मलमास) को यस्तो छ पौराणिक कारण तथा महत्व

  

                   काठमाडौं, साउन १ । यसपटक साउनमा भगवान शिवको पूजासँगै भगवान विष्णुको पूजा-आराधनाको पनि महत्व रहेको बताइन्छ । वास्तवमा यसपटक साउन महिनाको मध्यमा मलमास अर्थात् थप महिना पनि लाग्नेछ । मलमासलाई पुरुषोत्तम महिना वा अधिकमास पनि भनिन्छ। यो महिनामा भगवान् पुरुषोत्तम अर्थात् विष्णुको पूजा-आराधनाको विशेष महत्व छ ।

के हो मलमास ?
सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । हिन्दु पञ्चाङ्ग अनुसार, सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार, ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर मलमास बार्न थालिएको हो ।

पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्दा आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, बस्दा पुसमा बस्दा ससुरालाई पिर्ने, पहिलो अधिकमासमा बस्दा पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्दा आफ्नै बाउलाई पिर्ने कुरा शास्त्रमा पाईन्छ ।

मलमास अवधिभर विवाह गरेको १ वर्ष नपुगेका जोडीसँगै सुत्न र एउटै घरमा बस्न हुँदैन । धर्मशास्त्रका अनुसार, मलमासमा श्रीमान श्रीमतीसँगै बसे श्रीमानलाई हानी हुने भनिएको छ । त्यस्तै मलमास अवधिमा गर्भ रहे त्यस्तो बच्चा अपांग हुने विश्वास लिइएको छ । त्यसैले विवाह भएको १ वर्ष नपुगेका जोडीलाई मलमास बार्न भनिएको हो ।

अधिकमासमा सङ्क्रान्ति हुँदैन र औंशी दुईवटा हुने गर्दछ। ग्रह, तारा, नक्षत्र, वार, राशि, दिन सबैको आफ्नो स्वामी हुने गर्दछन् । मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।  श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्णसँग बिन्ती गर्नुभएको र श्री कृष्ण भगवानले अब देखि आफू मलमासको स्वामी हुने र आफ्नो पुरुषोत्तम नामले मलमास प्रख्यात हुने बरदान दिए पछि यो महिनाको नाम पुरुषोत्तम मास हुन गएको शास्त्रमा बर्णन गरिएको छ।

मलमास कहिले देखि सुरु हुँदैछ ?
ज्योतिष शास्त्र अनुसार प्रत्येक तीन वर्षमा अधिकामास अर्थात मलमास आउँछन् । यस वर्ष  मलमास यही साउन २ गते मंगलबारदेखि भदौ १६ गते बुधबारसम्म रहनेछ । जुन महिनामा सूर्य संक्रान्ति हुँदैन, त्यो महिना अधिकामास हो र जुन महिनामा दुई संक्रान्ति हुन्छ त्यसलाई क्षयामास भनिन्छ ।

मलमासको दृष्टिकोणले यस महिनाको जति निन्दा गरिन्छ, पुरुषोत्तम महिनाको दृष्टिकोणले पनि उत्तिकै महिमा गरिन्छ। परोपकार र तिरस्कारले दुःखी भएर कठोर तपस्या गरेर भगवान विष्णुलाई प्रसन्न तुल्याएको जनविश्वास छ । आदिमासको आगमनमा श्रीविष्णुको पुजा, गीता वाचन, श्रीराम कृष्णको नामजप, अष्टाश्रर नारायण मन्त्र, द्वादशाक्षर श्री वासुदेव मन्त्र जप, भोजन दान आदि शुभ कर्म गर्ने व्यक्ति गोलोकमा पुग्छ ।

मलमासमा मन्त्र जप, दानको विशेष महत्व
यो महिना प्रारम्भ हुने वित्तिकै बिहान सबेरै उठेर सूर्योदयअघि शौच, साँझ स्नान आदि दैनिक कर्म लिनुपर्छ । पुरुषोत्तम महिनाको नियम एकपत्नी, सत्यता, ब्रह्मचर्य, भूमिसयान आदिको रूपमा लिनुपर्छ । भगवान शालिग्रामको दैनिक तेत्तीस वटा तुलसीको पातले पूजा गर्दा अनन्त पुण्य मिल्छ भन्ने विश्वास छ।

मलमासमा के गर्न हुन्छ के गर्न हुँदैन ?
यो अवधिमा वार्षिकी कार्यहरु गर्न मिल्छ, सधैं गर्दै आएका नित्य कर्म, बिहान बेलुकाको पूजा पनि गर्न मिल्छ । अधिकमासमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, महारुद्रि, शतचण्डी, शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन जस्तो गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ त्यस्तै अधिक मासमा विवाह गरेमा गृह सुख हुँदैन भन्ने पनि धार्मिक बिश्वास छ। फल प्राप्तिको अभिलाषामा गरिने सबै काम वर्जित छ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा (Leap Year) को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चन्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।

 

 


 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update