काठमाडौं, साउन १ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रावण १ गते देखी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैया अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयाँमा नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गर्नेछ ।
त्यसै गरी निष्कासन गरिने कुल शेयरको पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि एक सय रुपैयाँ अंकित मूल्यमा एक सय ३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल दुई सय ३९ रुपैयाँका दरले र पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताहरूले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आइपिओमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गते देखी १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ट्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।