धरान, काठमाडौं, साउन १ । धरानका एक सुन व्यवसायीले भानुचोकमा आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्किएर उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । धरान-३ माछाभौडीका यौवन खड्गीले आत्मदाह प्रयास प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेको र अहिले छलफल चलिरहेको वडाध्यक्ष विद्या शाक्यले बताए ।
न्यू जयन्ति स्टोरका सञ्चालक रहेको खड्गी यसअघि सर्वसाधारणले घर नै घेर्न थालेपछि उनी गायब बनेका थिए । सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने आशामा सुन पसलमा पैसा राख्न दिएका थिए ।
पैसा नपाएपछि स्थानीय पेम्बा तामाङले उनको जग्गा रोक्का गरिपाऊँ भनी मुद्दा हालेका थिए । त्यसपछि उच्च अदालत विराटनगरले जग्गा फुकुवा समेत गरिदिएको थियो । फुकुवा गरेपछि बचतकर्ताहरुसँग मिलापत्र गरेर फर्किएको केही दिनमै उनले यस्तो प्रयास गरेको वडाध्यक्ष शाक्यले बताए । उनका अनुसार आजै पीडितलाई बचत रकम फिर्ता गर्ने दिन थियो ।
उनको पसलबाट ७२ जना बचतकर्ताहरु पीडित रहेको पीडित मध्येका स्थानीय सुमन उदासले जानकारी दिए । त्यतिका पीडितको ६ करोड ७४ लाख रुपैयाँ बढी उनले तिर्न रहेको समेत उनले जानकारी दिए ।