काठमाडौं, असार ४ । नेपाल क्रिकेट संघ क्यानले स्पेनमा हुने विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबिचको त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि छनौट भएका २० खेलाडीको नाम सार्वजनिक गरेको छ ।
क्यान शुक्रबार एक विज्ञप्ती जारी गरि प्रारम्भिक चरणमा २० खेलाडीको नाम सार्वजनिक गरेको हो । यसपटक टिममा कुनै नयाँ नाम अटाएका छैनन् । पृथु बास्कोटा र शरद भेषवाकरलाई टिममा बोलाइएको छ । भने रोहित पौडेल, बसन्त रेग्मीलाई बाहिर राखिएको छ । क्यानले बन्द प्रशिक्षण आगामी सोमबार देखि थालिने बताएको छ ।
प्रशिक्षक ड्याभ वाटमोरको यो नेपालको प्रशिक्षकका रुपमा दोस्रो प्रतियोगिता हो । गत माघमा त्रिवी मैदानमा घरेलु टोली नेपाल, अमेरिका र ओमान सम्मलित त्रिकोणात्मक सिरिजमा खेल्दै नेपालले डेब्यु गरेको थियो । उक्त सिरिजमा चार खेल खेल्दा दुईमा मात्र जित हात पार्दै चार अंक जाडेको नेपाल छैठौँ स्थानमा छ ।
यता १० खेलबाट १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ नै अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । २०२३ सम्म होम एण्ड अवेका आधारमा चल्ने सो सिरिजमा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएइ र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्नेछन् । एक देशले कुल ३६ अंक बनाउने छ । शिर्ष तीन टिमले ग्लोबल छनौटमा स्थान बनाउनेछन् । पुच्छारका चार टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछन् ।
बन्द प्रशिक्षणमा पर्नुभएका खेलाडीहरु :
कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिह ऐरी, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहोरा रहनुभएको छ । यस्तै शरद पृथु सहित साहब आलम, सुशान भारी, पवन सरार्फले स्थान बनाउन सफल हुनु भएको हो ।