काठमाडौ, साउन ३ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई 'ए' लाई ३ विकेटले हराएको छ । नेपालको जितमा कुशल भूर्तेलले अलराउन्ड प्रदर्शन गरे ।
श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको युएई ‘ए’ ले ४४ ओभरमा १५७ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो ।
देव खनाल र सन्दीप जोराले २४–२४ रनको योगदान गरे । यस्तै गुल्सन झा ११ र कप्तान रोहित पौडेल ९ रनमा आउट भएका थिए । प्रतिश जीसी ८ रनमा अविजित रहे। यूएईका मोहम्मद फराजुदिनले ५ विकेट लिए।
६ टोलीको रहेको यस प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । प्रतियोगिताको सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।