Kath khabar
विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिन्न : शिक्षामन्त्री अशोक कुमार राई

 

                काठमाडौं, साउन ४ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताउनु भएको छ ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले यस्तो बताउनु भएको हो । उहाँले विश्वविद्यालयमा भ्रातृ सङ्गठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले नदिने भए पनि निश्चित किसिमको आचार संहितामा बाँध्न सकिने बताउनुभयो । उहाँले विद्यार्थी युनियनहरूले के गर्न पाउने, के नपाउने भन्ने कुरा कानुनमा नै आचार संहिता तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ विद्यार्थी युनियनहरूकै बीचमा झडप हुने अवस्था बनिरहेको हुन्छ तर भ्रातृ सङ्गठनलाई हाम्रो संवैधानिक कानुनी प्रावधानले पनि बन्देज नै लगाउने अवस्था त हुँदैन । तर उनीहरूलाई निश्चित किसिमको आचार संहितामा बाँध्न सकिन्छ । युनियनहरूले के गर्न पाउने, के गर्न नपाउने भन्ने कुरा कानूनी हिसाबले आचार संहिता तोक्न सक्यौँ भने धेरै सुधार हुन्छ ।’

मन्त्री राईले विद्यालय शिक्षा ऐन प्रक्रियामा रहेको र प्रक्रियामा समस्या भएका कारण ढिलाइ भइरहेको बताउनुभयो । उहाँले प्रक्रियामा समस्या भएका कारण यही हप्ताभित्र आउने भनिएको विद्यालय शिक्षा ऐन संसदमा आउन नसकेको उल्लेल गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update