काठमाडौं, साउन ४ । नेपालगञ्ज नाका भएर गत १ वर्षको अवधिमा ९ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो ।
भन्सारको तथ्याङ्क अनुसार ६१ हजार ८७९ टन चामल भारतबाट भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा गत आवमा दोब्बर भन्दा कम चामल आयात भएको छ । सो बर्ष ९ अर्व ६२ करोड रुपियाँ मुल्यको १ लाख ७१ हजार १०५ टन चामल आयात भएको थियो । गत आवमा नेपालगञ्ज नाका भएर ४ अर्व ९ करोड रुपियाँ मुल्यको खाद्यान्न मकै भित्रिएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु प्रसाद शर्माका अनुसार ५५ हजार ७१ टन मकै भारतबाट भित्रिएको छ । यसैगरी १३ हजार ५१ टन दलेको वा नदलेको दाल पनि भित्रिएको छ । भन्सारको मुल्याङ्कनअनुसार सो दालको मुल्य १ अर्व ३१ करोड रुपियाँ रहेको छ ।
भन्सार कार्यालयका अनुसार गत आवमा ६ हजार ९८० टन हरियो प्याज, सलौट र साग पनि भित्रिएको छ । त्यसको भन्सार मुल्याङ्कन अनुसार २६ करोड ६४ लाख रुपियाँ मुल्य छ । यसैगरी ९३ करोड ६० लाख मुल्यको ३७ हजार ५८५ टन आलु पनि भित्रिएको छ । भारतबाट चामल, आलु र प्याज सहित गत आवमा धान पनि बढी नै परिमाणमा भित्रिएको छ । १५ करोड ६१ लाख मुल्यको १ हजार ४५८ टन भारतीय धान नेपालगञ्ज नाका भएर भित्रिएको छ ।