काठमाडौं, साउन ५ । चैत्य भन्ने बित्तिकै हामीहरुको दिमागमा शिलाबाट बनेको चैत्य बुझ्ने गरिन्छ । ढुंगाबाट बनेका र ठूलो इँटा जोडेर बनाइएका कैयौं चैत्यहरु ठाउँठाउँमा देख्न सकिन्छ । तर छुस्यावहालको गन्धकुटीमा राखिएको काष्ठ चैत्य आफैंमा अनौंठो कलाकृति हो । बहालमा राखिएको काष्ठ चैत्यलाई चोकमा रहेको कुटागार चैत्यको प्रतिकृति मान्ने गरिएको छ । काष्ठ चैत्यलाई स्थावर (हिंडडुल गर्ने जीवित प्राणीलाई जंघम र हिंडडुल गर्न नसक्ने रुख झारपातलाई स्थावर भनिन्छ) चैत्य पनि भनिन्छ । काष्ठ चैत्य बनाउने प्रचलन नेपालमा पनि चलेको पाइन्छ ।
स्थावर चैत्यको चर्चा अरु विद्वानहरुले गरेको पाइएको छैन । “हेमराज शाक्यले 'चैत्यया आत्मकथा'मा स्थावर चैत्यको अर्थ 'तःग्वःगु चीबहाः' अर्थात् ठूलो आकारको चैत्य भनि उल्लेख गरेका छन् । सहस्र अश्वमेघ यज्ञ गर्नुभन्दा एउटा लक्ष चैत्य (माटोको चैत्य) बनाउँदा धेरै पूण्य हुन्छ भन्ने मान्यता रहेको छ । १,००० वटा लक्ष चैत्य भन्दा एउटा स्थावर चैत्य बनाउँदा पूण्य धेरै हुन्छ । सद्धर्मपुण्डरिक सूत्रमा आधारित स्थावर चैत्यको निर्माण कुन-कुन महाविहारहरुमा छन् खोजको विषय नै हो ।” यस प्रकारका धार्मिक तथा कला अध्ययन अनुसन्धानको विषय बनेको छ । साँखुको गुंविहारमा रहेको प्रसिद्ध धवल चैत्य पनि काठबाट नै बनेको उल्लेख अमृता महर्जनको शोधग्रन्थमा उल्लेख गरिएको छ ।
गुंविहारको विशेषता पनि चैत्य जात्रा हो । जात्रामा प्रयोग गरिने चैत्य काष्ठ चैत्य हो । इतुंबहाल, झ्वावहाल, हेनाकर महाविहार, हेमवर्ण महाविहार, सिकंमुवहाल आदिका वज्राचार्यहरु साँखुबाट नै आएका हुन् भन्ने मान्यता रहेको छ । हेनाकर महाविहार र गुणाकर महाविहारका वज्राचार्यहरुले धवल चैत्यलाई आफ्नो दिगुद्यः (कुलदेवता)को रुपमा मान्दै आएका छन् । स्थावर चैत्यलाई घामपानीबाट जोगाउन विहारमा गन्धकुटी भित्र स्थापना गरिएको छ । विहारको स्थावर चैत्यको गजुर र गर्भगृह आदि विग्रिसकेको छ । कूटागार शैलीको यस चैत्यमा गजूर र गर्भगृह बाहेक चतुद्र्वार र बोधिसत्वहरुको मूर्ति सुन्दर रहेको छ ।
का.म.न.पा. २७ वडा, घर नं २१५ ज्याठामार्गमा गुणाकार महाविहार रहेको छ । काठमाडौंको स्थानीय बोलिचालीको भाषामा छुस्यावहाः भन्ने गरिन्छ । यहाँ रहेको एक शिलालेखमा गुणाकर महाविहार लेखिएको छ । तर यहाँ महाविहारमा गरिने कार्यहरु गरिंदैन । हेनाकर महाविहार (ध्वका वहाः) को कचावहाःको रुपमा छुस्यावहाः (श्री गुणाकर विहार) र हाकु वहाः (श्री हर्ष चैत्य विहार) रहेको छ । श्री गुणाकर महाविहार मध्यकालको सुवर्ण प्रनादि प्रणाली महानगर अन्तर्गत रहेको छ । एन आर बनर्जीले नेप्लिज आर्किटेक्चर भन्ने पुस्तकमा छुस्यावहाललाई छुस्या विहार भनेका छन् ।
श्रोत:काठमाडौं खबर