दिल्ली, साउन ७ । दिल्ली उच्च अदालतले तहल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई २ करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ ।
न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवा निवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्ति स्वरूप भराउने आदेश दिएको हो । सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तहल्का डटकमले गोप्य कारबाही (स्टिङ अप्रेसन) गरेर खरिद सम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।
तहल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानि भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरेको आरोप लगाइएको थियो ।
तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो । उक्त सामग्री प्रसारण हुने बित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो ।
छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको र सार्वजनिक मान प्रतिष्ठामा ठूलो आघात पुगेकाले उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् ।