Kath khabar
साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड

 

           काठमाडौं, साउन ८ । साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ दर्शनार्थीहरु लाइनमा बसेका छन् ।

सोमबारका अवसरमा आज पशुपतिनाथमा विशेष पूजा आराधनाका लागि १०१ भक्तजनले रसिद काटेका छन् । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल गएर बसेका थिए । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । जसका कारण गत हप्ता अर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको सङ्ख्या केही घटेजस्तो देखिन्छ । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेका छन् । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् ।

प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउनको सोमबारको व्रत गर्ने भक्तजनले पाँचवटै सोमबारको व्रत पूरा गरी उद्यापनका लागि अन्तिम सोमबार गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update