मान्टा, साउन ८ । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो। ३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।
आइतबार आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
मेयरका सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा गोली लागेर आक्रमणकारी पनि घाइते भएका छन्। प्रहरी हिरासतमा रहेका उनको अहिले उपचार भइरहेको छ।
भेनेजुयलाका नागरिक रहेका आक्रमणकारी यसअघि कुनै आपराधिक घटना संलग्न भएको देखिएको छैन। मेयर इन्ट्रिआगो माथि गोली हान्नुको कारण खुलिसकेको छैन।