ललितपुर, साउन ८ । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ ।
म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो ।
म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्च मै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताउनुभयो । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख सुधार आएको उहाँले बताउनुभयो । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर ५०० भन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उहाँले बताउनुभयो ।
भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रुपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अत्यन्तै महत्वपूर्ण हुने उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामुलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान सावित हुने बताउनुभयो । आर्थिक स्रोतको कमीबीच क्यान्सरविरोधी अभियान सञ्चालन गरिरहेको फाउन्डेसनलाई विभिन्न संस्थाले सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
फाउन्डेसनका महासचिव डा। सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताउनुभयो । उनले म्यामोग्राफी मेसिन दाताबाट प्राप्त सहयोगमध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि बताउनुभयो । क्यान्सरको आँकडामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर अहिले उच्च बिन्दुमा रहेको भन्दै उनले स्थापनाकालदेखि यिनै प्रमुख क्यान्सरलाई केन्द्रमा राखी यसबाट बचाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।
फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैँले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिनुभयो । त्यसैगरी, सरकारलाई राष्ट्रिय क्यान्सर नीति बनाउन चाहिने विज्ञता उपलब्ध गराएको र सरकारसँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिएको उनको भनाइ छ । फाउन्डेसनले घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापान सरकारको यो सहयोगबाट संस्थालाई यसको लक्ष्यमा पुग्न निकै सहज हुने बताउनुभयो । उक्त म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको भन्दै यसले संस्थाको परिकल्पना र संकल्पलाई मूर्त रुप दिलाउन ठूलो सहयोग गरिरहेको आर्यलले बताउनुभयो ।
उपचार गरेर निको पार्न सकिने अवस्थामै स्तन क्यान्सर पहिचान गर्न मद्दत गर्ने हुँदा यो मेसिन स्तन क्यान्सरको जोखिममा रहेका सम्पूर्ण दिदीबहिनीका लागि बरदान सावित हुने उहाँको भनाइ छ । उक्त सहयोगका लागि जापान सरकारलाई धन्यवाद ज्ञापन गर्दै अर्यालले यसलाई नेपाल र जापानबीचको बलियो सम्बन्ध एवं नेपालप्रति जापान सरकारको सद्भावको साक्षीको रुपमा चित्रण गर्नुभयो ।