काठमाडौं, साउन ८ । ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । पक्राउ परेका दुवै जना २०५९ र २०६७ सालमा ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा मोही बनाइएको अनुसन्धानमा देखिएको छ ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
यस अघि हिजो आइतबार यस प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । यस प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायत हालसम्म २१ जना पक्राउ परिसकेका छन् ।